आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अमेरिकामा जारी सिरिजमा नेपालले आज आयोजकको सामना गर्न लागेको हो ।
टेक्सासस्थित मोसा क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार राती ९ बजेर १५ मिनेटमा सुरु हुनेछ । सिरिजको पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको नेपाल दोस्रो खेलमा पहिलो अंक जोड्ने प्रयासमा छ । बलियो टोली ओमानलाई हराएको घरेलु टोली दोस्रो जितको खोजीमा हुनेछ ।
नेपाल र अमेरिकाबीच भएका पछिल्ला ४ भेटमा नेपाल ३ र अमेरिका १ खेलमा विजयी भएका छन् । चोटका कारण पहिलो खेल गुमाएका नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख आजको खेलमा मैदान उत्रने संभावना छ । टोलीको अभ्यासमा सहभागी भएका दुबै ओपनर चोटमुक्त भएकाले आज मैदान उत्रने संभावना रहेको हो ।
यद्यपी प्रशिक्षक पुबुदु दाशानायकेले त्यसबारे कुनै जानकारी दिएका छैनन् । दुबै ओपनरले चोट बोकेपछि ओमानविरुद्वको खेलमा सुनिल धमला र सुबास खकुरेललाई ओपनरका रुपमा पठाएको थियो ।