Logo

लगातार तेस्रो जितसँगै नेपाल फाइनलमा,करण केसीको ह्याट्रिक सहित ५ विकेट

Kailash Regmi
२०७८ चैत्र १७ , बिहीबार १०:०३ मा प्रकाशित

नेपाल घरेलु मैदानमा आयोजित त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा पपुवा न्यु गिनी पीएनजीलाई ३७ रनले हराउँदै नेपाल एक खेल अगावै फाइनलमा प्रबेश गरेको हो । जारी सिरिजमा नेपालले पीएनजीलाई लगातार दोस्रो पटक हराएको हो । यसअघि प्रतियोगीताको उद्घाटन खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको थियो ।
२ सय ४ रनको उच्च लक्ष्य पछ्याउने क्रममा पीएनजी १९ दशमलव ४ ओभरमा १ सय ६६ रनमा समेटियो । चाल्र्स अमिनीले सर्बाधिक ६२ रन बनाएको पीएनजीको ईनिङसमा टोनी उराले ४३ रन बनाए । सेसे बाउले २५ र नोरमान भानुवाले १७ रन जोडे । सुरुवाती २ विकेट सस्तोमै गुमाएपनि उरा र अमिनीले तेस्रो विकेटका लागि ८४ रनको साझेदारी गर्दै टोलीको ईनिङस सम्हालेका थिए । नेपालका करण केसीले ह्याट्रिक सहित ५ तथा अबिनाश बोहोरा र सोमपाल कामीले समान २ विकेट लिए । सन्दिप लामिछानेको नाममा एक विकेट रह्यो । करण टि–ट्वान्टी क्रिकेटमा ह्याट्रिक लिने दोस्रो बलर बनेका छन् ।
यसअघि किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ३ रनको बिशाल योगफल तयार पारेको थियो । दिपेन्द्रसिंह ऐरी र आदिल रासिदले चौथो विकेटका लागि ७६ रनको साझेदारी गरेपछि नेपालले उच्च योगफल बनायो । दिपेन्द्रसिंह ऐरीले बिष्फोटक ब्याटिङ गर्दै ३३ बलमा ६६ रन बनाएको ईनिङसमा आदिल रासिदले ३१ रन बनाए । उनले मात्र ११ बलको सामना गरेका थिए । रोहित कुमार पौडेलले ४१ र आसिफ शेखले ३८ रन बनाए । कुशल भुर्तेलले १७ रन जोडे ।
पीएनजीका काबुआ मोरियाले ३ तथा रिले हेकुरेले २ विकेट लिए । नोरमन भानुवा र नोसिना पोकनाले समान एक विकेट लिए । सिरिज अन्तर्गत भोली पीएनजी र मलेसीया प्रतिस्पर्धा गर्नेछन् ।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?