प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमा (होली)मा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन्।
फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले जातीय, भाषिक र संस्कृतिको एकता नै नेपालीको पहिचान बनेको बताएका हुन्।
उनले कोभिड–१९ को सङ्क्रमण अझै पूर्ण रूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादित रूपमा होली पर्व मनाउन आग्रहसमेत गरेका छन्।
साथै उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अबीर र रङ खेल्दै फागुपूर्णिमा मनाइन्छ।