जापानले सीमापारबाट आउने दैनिक आगन्तुकको संख्यामा तोकेको सीमा बढाउने विचार गरिरहेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सीमामा लगाएको प्रतिबन्ध थप खुकुलो बनाउँदै हाल ७ हजार रहेको दैनिक आगन्तुकको संख्या १० हजारमा पुर्याउनेबारे विचार विमर्श हुन लागेको सरकारी स्रोतहरुलाई उद्धृत गर्दै मंगलबार क्योदोले समाचार छापेको हो ।
जापानमा संक्रमणको अवस्था र अन्य देशहरुले लागू गरेको सीमा नियन्त्रणको उपायहरुलाई विचार गरेर सरकारले सीमा नियन्त्रणका उपायहरु चरणबद्ध रुपमा खुकुलो बनाउने प्रधानमन्त्री फुमिओ किशिदाले बताएका छन् । देशको कयौं क्षेत्रमा ओमिक्रोनको संक्रमण फैलिने क्रम सुस्ताएको देखिएको छ ।
टोकियो समेत देशको १८ प्रिफेक्चरमा संक्रमण नियन्त्रणका लागि लगाइएको अर्ध–आपतकाल आगामी सोमबार सकिदैं छ । टोकियो लगायत केही शहरी क्षेत्रले अर्ध–आपतकाल हटाउन चाहेका छन् । नोभेम्बरको अन्त्यदेखि फेब्रुअरीको अन्त्यसम्म जापानले ओमिक्रोनका कारण नवप्रवेशी विदेशीका लागि सीमा ठप्प पारेको थियो ।
चर्को आलोचना हुन थालेपछि मार्चदेखि सीमा नियन्त्रण खुकुलो बनाउँदै चरणबद्ध रुपमा दैनिक आगन्तुकको प्रवेश सीमा बढाएर सोमबार ७ हजारमा पुर्याइएको छ । विदेशी पयर्टकहरुको प्रवेशमा भने अहिले पनि प्रतिबन्ध छ । अप्रिलमा जापानको आर्थिक वर्ष र शैक्षिक सत्र शुरु हुन्छ । यति बेला यात्राको माग सामान्यतः उच्च हुन्छ ।