Logo

केन्द्रीय दबाबपछि कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता हुने संकेत, ओली-दाहाल छलफलमा

न्युजडेस्क
२०७७ असोज २७ , मंगलबार ०१:१० मा प्रकाशित

काठमाडौँ-  केन्द्रीय तहबाट दबाब तीव्र बनेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता हुने सम्भावना तीव्र बनेको छ।

खासगरी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना समूहका नेतालाई अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरिसकेको, अध्यक्ष पुष्पकमल दाहालले पनि पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई सोही आग्रह गरिसकेको अवस्थामा अब बैठक डाकेर प्रक्रिया अघि बढाउनुको अर्थ नहुने निष्कर्षतर्फ अर्का अध्यक्ष केपीशर्मा ओली समूहका नेताहरु पुगेकाे समूहका कर्णाली प्रदेशका एक सांसदले देशसञ्चारलाई बताए।

उनका अनुसार अहिले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदहरु छलफलमै छन्। उनले बैठकमै भने,‘हामी अहिले दाेधारमा छौँ माथिबाट अत्यन्तै दबाब आएको छ। हस्तक्षेप स्वीकार गर्ने की आफ्नो अधिकार प्रयोग गर्ने भन्ने दोमनमा छौँ।’

यसअघि बिहान पूर्वसभामुखसमेत रहेका ओली निकट सुवासचन्द्र नेम्वाङले अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए। यता अविश्वासको प्रस्ताव  फिर्ता गराउन नेता नेपालले पार्टीका केन्द्रीय सदस्य निरज आचार्य, धु्रब शाही र प्रकाश ज्वालालाई पनि खटाएका छन्।

नेता नेपालले सोमबार दाहाललाई मुख्यमन्त्री शाहीले आफ्नो कार्यशैली सुधार गर्न आवश्यक भएको तर अहिले नै उनलाई हटाइहाल्न नहुने आश्वासन दिएका थिए। अर्का अध्यक्ष केपी शर्मा ओलीले भने प्रदेशमा उत्पन्न समस्यामा आफ्नो भूमिका नरहेको भन्दै दाहालसामू आफ्नो बचाउ गरेका थिए।

मुख्यमन्त्री शाही नेतृत्वको सरकारले प्रभाकारी काम गर्न नसक्दा सरकार र पार्टी दुवैको बदनाम भएको भन्दै मुख्यमन्त्री शाहीविरुद्ध पूर्वमाओवादी पृष्ठभूमिका तीन जना, पूर्व एमालेका ओली निकट ८ जना र नेपाल निकट ७ जना गरी १८ जना नेकपा कर्णालीका सांसदले आइतबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

तर मुख्यमन्त्री शाहीले आफू पदबाट हट्ने परिस्थिति आएपछि आइतबारकै मिति राखेर सोमबार प्रमुख सचेतक गुलाफ जंग शाहलाई निलम्बन गरी पूर्वमाओवादी पृष्ठभूमिकी सिता नेपालीलाई नयाँ सचेतक बनाएका थिए। उनले कार्तिक सात गते संसदीय दलको बैठक आव्हान गरेकी थिइन्।

यसैबीच, ओली र दाहाल अहिले बालुवाटारमा छलफलमा जुटेका छन्। अविस्वासको प्रस्ताव फिर्ताका लागि उनीहरुले जतिसक्दो चाँडो आदेश दिने तयारी गरेको पार्टी सचिवालयका एक सदस्यले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस ।
राजनीति
लोकप्रिय छुटाउनुभयो कि ?