Logo

उत्सव-कविता

न्युजडेस्क
२०७७ साउन १३ , मंगलबार ०९:०७ मा प्रकाशित

-विवेक धिमाल
तातो तेलमा तारेर रोष्ट बनाएँ
आफ्नै दुई हातहरु
र बिश्वबिद्यालय पास गरेको खुसीयाली मनाएँ !
नुनखोर्सानी, मसला र कागती हालेर साँधे
आफ्नै खुट्टाहरु
रक्सीसंग खाएँ कामले थाकेको दिन !
डाक्टरले कमजोर छस् भनेको दिन
आफ्नै कलेजो झिकेँ
र तागत बढाएँ ।

सुखमा होस् वा दुखमा
गर्मी होस् वा जाडो
ड्युटि होस् वा बिदा
चाडपर्व होस् वा उत्सव
भेटघाट होस् वा बिदाई
फरक-फरक परिस्थितिमा बनाईरहेँ
फरक फरक अंगका परिकारहरु
मनाइरहेँ उत्सवहरु ।

गर्मीको दिन
आफ्नै छात्तीमा बल्छी हानेँ
र साँझ बियरसंग खाएँ माछा सम्झेर !
कुहिरो लागेको दिन
आफ्नै टाउकोमा गोली हानेँ
र सिकार खेलेँ आफ्नै टाउकोलाई मृग सम्झेर !
टाउको पोलेर झरी मनाएँ
करङमा रस हालेर जाडो मनाएँ !

मनाएँ थुप्रै उत्सबहरु
रमाईला भए चाडपर्वहरु
जन्मदिनहरु !
कहिले रक्सीसंग त कहिले आँशुसंग
कहिले पसिनासंग त कहिले मनको आहतसंग
स्वाद मिलाइरहेँ आफ्नै जीन्दगी काटेर
आफ्नै घाँटी रेटेर ।

अब
नडराओ ए माछाहरु हो~
मैले आफ्नै छात्तीमा बल्छी हानीसकेँ !
ढाड भाँचेर भुईँमा पछार्दिन कुखुराहरुलाई
मैले आफ्नै ढाडमा खुकुरी हानीसकेँ !
बाटो ढुकेर मार्नेछैन मृगहरुलाई
मैले आफ्नै नीधारमा गोली हानीसकेँ !
अब कुनै खसीबोका काट्नेछैन
मैले आफ्नै घाँटी रेटेर दशैँ मनाईसकेँ !
नडराओ~
ढुकुर र जुरेलीहरु हो
गुलेलीले हानेर
मैले आफ्नै आँखा फुटाइसकेँ !
रगतसंगै बगेको तिमीहरुको छटपटी
मैले बुझिसकेँ !
अनुभव गरिसकें !
भोगीसकेँ !

केही त काम लाग्छ मेरो कपाल
जम्मै लगेर गुँड बनाओ ढुकुर परेवाहरु हो !
मेरो छालाले मोरेर
आराम गर्ने एउटा मुडा बनाओ !
मेरा हड्डीहरु लगेर गुँड सजाओ !
निस्फिक्री भएर उड !
स्वतन्तन्त्र भएर बाँच !
किनकि
पृथ्बी तिमीहरुको पनि हो !!!

तपाइको प्रतिक्रिया दिनुहोस ।
विवेक धिमाल
लोकप्रिय छुटाउनुभयो कि ?