Logo

स्पेनमा महामारीको दोस्रो लहरको चिन्ता

न्युजडेस्क
२०७७ साउन ११ , आईतबार ०८:०७ मा प्रकाशित

कोरोना भाइरसबाट संक्रमित हुनेहरु थपिने क्रम बढ्दै गएपछि स्पेनले संक्रमण नियन्त्रणका लागि नयाँ नियमहरु लागि गरेको छ ।

महामारीको दोस्रो लहर थप बिस्तारित हुन सक्ने जोखिम कम गर्नका लागि स्पेनले पुनः सचेतता अपनाएको हो । क्याटलोनियाले संक्रमण बढ्न थालेपछि दुई हप्ताका लागि नाइट लाइफ बन्द गरेको छ ।

उत्तर–पूर्वी क्षेत्र क्याटलोनिया बाहिर पनि संक्रमण बढेको देखिएको छ । बेलायतले स्पेनबाट फर्किने सबै सेल्फ आइसोलेशनमा बस्नु पर्ने बताएको छ ।

यस्तै नर्वेले पनि त्यस्तै नियम लागु गरेको छ । फ्रान्सले भने यात्रा सचेतता जारी गरेको छ । फ्रान्स र जर्मनीमा पनि पछिल्लो समय संक्रमण बढिरहेको छ ।

विश्वका अरु क्षेत्रमा संक्रमण अति तीव्र गतिमा बढिरहेका बेला युरोपमा पनि संक्रमण बढ्न थालेको हो । विश्वभर पछिल्लो दुई दिन दैनिक दुई लाख ८४ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार वक्तव्य जारी गरेर भनेको छ, ‘संक्रमणबाट कुनै पनि देश चोखो छैनन् तर ठूला शहर र जनसंख्या धेरै भएका अमेरिका र दक्षिण एसियाका देशमा संक्रमण अति तीव्र रुपमा बढिरहेको छ ।’

विश्वभर अहिलेसम्म एक करोड ५९ लाख ८४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट हालसम्म विश्वभर ६ लाख ४३ हजार भन्दा धेरैको ज्यान गएको छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या ४१ लाख ७६ हजार भन्दा धेरै तथा मृत्यु हुने एक लाख ४६ हजार भन्दा धेरै छन् ।

यस्तै ब्राजिलमा २३ लाख ९४ हजार भन्दा बढी संक्रमित भएकोमा ८६ हजार भन्दा धेरैको ज्यान गएको छ।

भारतमा संक्रमितको संख्या १३ लाख ३७ हजार भन्दा बढी पुगेको छ भने अहिलेसम्म ३१ हजार तीन सय भन्दा बढीको ज्यान गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
कोरोना
लोकप्रिय छुटाउनुभयो कि ?