Logo

अभिनेता(कविता)

न्युजडेस्क
२०७७ असार ९ , मंगलबार ०९:०६ मा प्रकाशित

-बिबेक धिमाल

एक अभिनेता
जस्ले कहिल्यै पुरस्कार खोजेन !
इज्जत खोजेन !
तर
माया पाएन !
सहारा पाएन
र पाएन अवसरहरु पनि !
किनभने उस्को अभिनय मात्र राम्रो थियो
तर
उ धनी परिवारको थिएन ।
ठुलो कलाकारको आफन्त पनी त थिएन !

उस्को अभिनय केवल एउटा खेल थियो
आँखामा आँशु लुकाउने खेल
मुटुमा दुख लुकाउने खेल
अपमान सहने खेल !
र सबैकुरा बिर्सिएर मुस्कुराउने खेल !

अभिनय गर्ने उस्को तरिका-
फरक थियो~
अभावहरुको सामना गर्ने तरिका
मनभित्रको आँधी रोक्ने तरिका
रहरहरुलाई मार्ने तरिका
आवश्यकतालाई टारेर खुसी हुने तरिका
प्रतिस्पर्धा गर्ने तरिका

फरक थियो उस्को बाँच्ने तरिका !

उस्को अभिनय कहिल्यै चर्चामा आएन !
किनभने
उ धनी परिवारमा जन्मिएको थिएन
उस्का बा-आमा कलाकार थिएनन्
त्यसैले चर्चित कलाकारको साथ पाएन !
यदि
उस्का बा-आमाले पैसा खर्च गर्न सक्नेथिए भने
किन्न सक्नेथियो
एउटा मजबुत सम्बन्ध

बन्न सक्नेथियो राम्रो अभिनेता !
सञ्चारमाध्यमा उस्को नाम आउनेथियो !
मिडियामा छाउनेथियो
र अवसरहरु समेत पाउनेथियो !
अफसोस
उस्को अभिनयमात्र राम्रो भयो
परिवार राम्रो भएन ।

एकदिन
एउटा डोरीमा झुण्डिएर
उस्ले आत्महत्या गर्यो ।
जुन उस्को जीवनको अन्तिम अभिनय थियो ।
उस्ले फेरेको अन्तिम श्वास
हेरेको अन्तिम दृश्य
र अन्तिमपटक बाँचेको समय
दुनियाँले खुब मन परायो !
संसारभर चर्चा भयो !
मुख्य समाचार बन्यो ।
र भनियो~
“उनी राम्रो अभिनेता थिए ।”

जुन कुरा उ बाँचुञ्जेल
कसैलेपनि भन्न चाहेको थिएन ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?