Logo

लेवान्डोस्की र होल्याण्डले गरे दुई–दुई गोल

न्युजडेस्क
२०७७ असार ७ , आईतबार ०७:०६ मा प्रकाशित

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा उपाधि पक्का गरेको बार्यन म्युनिख र दोस्रो स्थानको बोरुसिया डर्टमुण्डले जित दर्ता गरेका छन् ।

बार्यनका रोबर्ट लेवान्डोस्की र बोरुसियाका आर्लिङ ब्राउट होल्याण्डले दुई–दुई गोल गरेका छन्।

घरेलु मैदानमा भएको खेलमा बार्यनले एससी फ्रेइबर्गलाई ३–१ ले पराजित गरेको हो । १५ औँ मिनेटमा किमिच तथा २४ र ३७ औँ मिनेटमा लेवान्डोस्कीले बार्यनका लागि गोल गरे । ३३ औँ मिनेटमा होलरले फ्रेइबर्गका लागि एक गोल फर्काए ।

यस्तै अवे मैदानमा भएको खेलमा बोरुसियाले आरबी लेइप्जिगलाई २–० ले पराजित गरेको हो । दुवै गोल होल्याण्डले गरे । ३० औँ मिनेटमा पहिलो गोल गरेका उनले इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा दोस्रो गोल गरी टिमलाई जिताएका हुन् ।

लगातार आठौँ पटक उपाधि पक्का गरिसकेको बार्यनको जितपछि ३३ खेलबाट ७९ अंक भएको छ । दोस्रो स्थानमा रहेको बोरुसियाको १० अंक कम अर्थात ६९ अंक भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
बुण्डेस लिगा
लोकप्रिय छुटाउनुभयो कि ?