Logo

छिमेकी-कविता

न्युजडेस्क
२०७७ जेठ १७ , शनिबार ०७:०५ मा प्रकाशित

बिबेक धिमाल

हाम्रो घरको उचाई नमिलेपनी
परिवारको आकार नमिलेपनी
आयश्रोत नमिलेपनी
आबश्यकता र चाहना नमिलेपनी
हाम्रो मन मिल्छ !
हाम्रो ब्यबहार मिल्छ !
किनभने हामी छिमेकी हौँ ।

एकअर्कालाई सहयोग गर्न पर्खालले छेकेको छैन
सुख, दुख साट्न घमण्डले रोकेको छैन
रहरहरु साँध नाघेर लहराउन पाएका छन्
पीडाहरु मनको बाँध फुटेर पोखिन पाएका छन्
किनभने हामी छिमेकी हौँ ।

मेरो घरको बलेँशी छिमेकीको आगनमा डुल्छ
मेरो बारीको फर्सी उतैतिर गएर फूल्छ
मेरो खेतको धान आलीबाट निहुरिएर उतैतिर झुल्छ
मेरो बारीको आँप, यतातिर उँभिएर उतैतिर फल्छ
तरपनी हाम्रो खेतबारीमा ईर्ष्या फलेन
झगडाको बिऊ उम्रिएन ।

मेरो घरमा के पाक्दैछ ?
छिमेकीलाई मतलब नहोस् !
छिमेकीको मुख कसरी चल्दैछ ?
मलाई मतलब नहोस् ।
बरु चासो होस्~
छिमेकीको घरको चुलो किन बलेन ?
छिमेकीको घरमा आज किन साँझबत्ती बलेन ?
छिमेकी असल हुनु भनेको~
हरेकदिन ताल्चा झुण्डाएर बस्नुपर्ने झन्झटबाट
घर मुक्त हुनु हो !
मनको भारी बिसाउने चौतारी भेटीनु हो
संकटमा सहारा भेटिनु हो ।

मेरो घरमा पस्ने आँधी, छिमेकीले छेकेन भने ?
छिमेकीको छानो उडाएको, मेरो मनले देखेन भने ?
छिमेकीको अनुहारमा बादल मडारिदा
मेरो आँखामा बर्षा भएन भने~
हामी कसरी छिमेकी ?
के-का लागि छिमेकी ?

हाम्रो सम्बन्धको उचाई देखेर~
उचाई बढेन दुश्मनीको !
साहस पुगेन दुश्मनहरुको !
हाम्रो मन फराकिलो भएरनै साँघुरिन पाएनन्~
हाम्रा खेतबारीहरु ! जग्गा जमिनहरु !
हाम्रो बिश्वास अडिग भएरनै~
हल्लिन पाएनन् साँधहरु ! सिमानाहरु !

हाम्रो बारीको साँधमा गाडेका ढुँगाहरु
बर्षौँदेखी नहल्लिईकन ध्यान गरेर बसिरहेछन् !
हामी खेतबारीमा शान्त भएर काम गर्ने गर्छौँ~
ता कि, साँधमा गाडेका ढुँगाहरुको ध्यान भँग नहोस् भनेर ।

यदि,
मेराजस्तै छिमेकी मेरो देशले पाएको भए ?
हाम्रा साँधहरुजस्तै स्थिर र अचल
मेरो देशका सीमास्तम्भहरु भईदिएको भए ?
म,
मेरो देशका लागि
एउटा अशल छिमेकी खोजीरहेछु !!

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?