Logo

राहत बितरण

न्युजडेस्क
२०७७ वैशाख २२ , सोमबार ०३:०५ मा प्रकाशित

विवेक धिमाल/कविता

दिनरात नभनी परिश्रम गर्दागर्दै पनि
रहरहरु मार्दामार्दैपनि
राहत माग्ने भइसकेछु,
पत्तै भएन !
परिश्रम गर्दागर्दै नङहरु खिइसके
पसिनाले धरती भिजाइसकेँ,
राम्रो लाएको पनि हैन
मिठो खाएको पनि छैन !
बाध्यतालाई टार्दाटार्दै,
छोराछोरीको भोक मार्दामार्दै
राहत माग्ने भइसकेछु,
पत्तै भएन ।

दैबले पनि मलाईनै हेप्छ !
बिमारले पनि मेरै बाटो छेक्छ !
थुप्रै रोग पाल्नुपरेपछि~
परिवार पाल्न गाह्रो हुनेरहेछ !
बचत गर्न गाह्रो हुनेरहेछ !
बिपत्ति धान्न गाह्रो हुनेरहेछ ।

मलाई,
राहत माग्ने~ समयले बाध्य बनायो !
परिस्थितिले बाध्य बनायो !
अभाबले बाध्य बनायो !
आँधी आउँदा छेक्दैथिएँ,
बाढी आउँदा रोक्दैथिएँ,
फेरी महामारी आयो ।
सरकारले त रोक्न सकेन म कसरी रोकुँ ?
सिमानाले त छेक्न सकेन म कसरी छेकुँ ?

गरिब हुनु, राहत पाउन योग्य हुनु होइन रहेछ ।
राहत आउनु र राहत पाउनु-
फरक कुरा रहेछ !
राहतपनि हुनेखानेलाई नै चाहिने रैछ !
गरिबलेचाहिँ सान्त्वना मात्र पाइने रैछ !
कति राहत बिचबाटोमै हरायो !
कति साटियो !
कति ढाँटियो !
चाकरी, चाप्लुसी जानेको भए,
गुलाम बन्न मानेको भए,
आज, मैलेपनी राहत पाउँथे होला !

सरकार,
भोको पेट र खाली खुट्टाले
गरिबको परिचय दिन्न भने~
मलाई एउटा ‘भोक मेटाउने परिचयपत्र’ दिइयोस् !!

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?