Logo

समय -कबिता

न्युजडेस्क
२०७७ वैशाख २१ , आईतबार १२:०५ मा प्रकाशित

माधव खनाल
सास रित्तिउन्जेल
फु फु गरेरपनि
मेरो अगेनामा नबलेको आगो
आज मेरो झुपडीमा
कसरी यति चाडैं सल्किन सक्यो ?

कोदालोको धार मेटिउन्जेल
कुलो सोहोरेर पनि
मेरो खेतमा आउन नसकेको खोलो
जसको कारण खेत पटपट फुटेर
हाम्रो परिवारको पेट
प्याकप्याक भयो
आज त्यो खोलाले मेरो घरै बगाउने गरि
कसरी बाटो बिर्सियो ?

सास फेर्नलाई चाहिने जति मात्रै
अथवा दुखेको घाउमा
फू गर्नलाई मात्रै पुग्ने हावा
कहिल्यै मेरो घरको बाटो हिडेन
आज फुसको छानो उडाउनेगरि
यो हुण्डरी किन यसरी उर्लियो ?

मलाई अध्यारोमा
छामछुम गरेरै हिड्ने
बानी परिसकेपछि
बादल बिजुली बनेर चम्कियो
चन्द्रमा पुर्णिमा बनेर झुल्कियो
दुनियाँ राँको लिएर आयो
तर त्यतिबेला सम्म
म त अन्धो भैसकेको थिएँ ।
समय मलाई कतै छोडेर टाढा पुगिसकेको थियो ।।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?