लिग टु का सिरिज रद्द भए नेपालले ठुलो घाटा ब्योहोर्नु पर्ने

अन्य खेलकुद

कोरोना भाईरसको सक्रमणका कारण विश्वका हरेक क्षेत्र तहस नहस भईरहेका बेला खेलकुदका गतिबिधि ठप्प प्राय बनेका छन् । एकदिवसीय विश्वकप छनोट प्रतियोगीताका रुपमा रहेको लिग टुका आगामी केहि सिरिज तत्कालका लागि स्थगीत भईसकेका छन् । नेपालले आगामी ३ महिना भित्र ३ वटा सिरिज खेल्ने तालिका थियो । ती मध्ये नामिबिया र पपुवा न्युगीनीमा हुने सिरिज लगभग स्थगीत भईसकेका छन् । स्कटल्याण्डमा हुने सिरिज पनि अन्यौलतामै छ । अर्थात नेपालले तीन सिरिजमा १२ खेल यो अवधिमा खेल्नुपर्नेछ ।
कोभिड १९ को सक्रमण कहिले नियन्त्रणमा आउछ त्यो अनिश्चिततामै रहने अवस्था छ । यो अवस्था लम्बिदै त्यसपछिका सिरिज पनि स्थगीत गर्नुपर्ने अवस्था आए अर्को समस्या थपिने निश्चित छ । अहिले स्थगीत मात्र भएका खेलहरु रद्द गर्दै अंक बाँड्नु परे सबैभन्दा बढि नोक्सान नेपालले ब्योहोर्नुपर्ने निश्चित छ । सात राष्ट्र सहभागी प्रतियोगीतामा नेपालले सबैभन्दा कम अर्थात मात्र एक सिरिजका ४ खेल खेलेको छ । ४ अंकमा तालिकाको छैटौ स्थानमा रहेको नेपाललाई अंक बाँड्दा अन्य मुलुकभन्दा बढि घाटा व्योहोर्नुपर्नेछ । किनकी अन्य मुलुकले कम्तीमा २ वटा सिरिज खेलिसकेका छन् ।
सात राष्ट्र मध्ये अमेरिकाले सबैभन्दा बढि १२ खेल खेलिसकेको छ । १२ अंकमा दोस्रो स्थानमा रहेको अमेरिका शीर्ष स्थानको ओमानभन्दा ४ अंकले पछि छ । ओमानले १० खेलबाट १६ अंक जोडेर तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । ८ खेल खेलेको स्कटल्याण्ड ९ अंकमा तेस्रो स्थानमा छ । नामिबिया र युएईले समान ७ खेलबाट क्रमश ८ र ७ अंक जोडेका छन् । खेलेका आठै खेल गुमाएको पपुवा न्यु गीनी पिएनजी अंकबिहिन रुपमा पुछारमा रहेको छ ।
शीर्ष ३ टोलीले विश्वकप क्रिकेटको अन्तिम छनोटमा स्थान बनाउने भएकाले हरेक खेल र हरेक जितको महत्व उतिकै रहेको छ । यस्तोमा आगामी खेलहरु हरेक मुलुकका लागि निक्कै महत्वपुर्ण रहेका छन् । बढि खेल खेलेका मुलुकहरु अंक बाँड्दा स्वत माथी रहने भएकाले कम खेल खेलेको नेपाल त्यसको मारमा पर्ने निश्चित छ ।
क्यानका सचिव अशोकनाथ प्याकुरेल अहिले तत्कालका लागि स्थगीत भएका सिरिज रद्द भए नेपाललाई ठुलो घाटा हुने बताउछन् । उनले परिस्थितीको आगामी अवश्या बिश्लेषण गरि आईसीसीसंगको समन्वयमा यो बिषयमा उचित निर्णय लिने बताए । तथापी कोभिड १९ को बढ्दो सक्रमण अन्त्य नभए त्यो अवस्था सबैको नियन्त्रणभन्दा बाहिर रहने निश्चित बन्दै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।