Logo

विश्वकप खेलेको ६ बर्ष पछि नेपाली क्रिकेटमा देखीएको निरिहता

कैलाश
२०७६ फागुन २४ , शनिबार ०९:०३ मा प्रकाशित

 बंगलादेशमा सन् २०१४ मा आयोजना भएको टि–२० विश्वकप क्रिकेटमा सहभागीता जनाएको नेपाल त्यसपछिको ६ बर्षमा आफ्नो स्तर बढाउन होईन कायम राख्न पनि असफल भएको छ । छनोटचरण पार गरी विश्वकपको आधिकारीक प्रतियोगीता खेलेको बर्ष नेपालले समुहचरणका ३ मध्ये २ मा जित र एकमा हारको नतिजा निकाल्यो । र्दुभाग्यवस बंगलादेशसंग नेटरनरेटमा पछि पर्दै नेपाल अघि भने बढ्न सकेन् । त्यसपछि विश्व क्रिकेटको टि–२० वरियतामा लगातार उचाई चढ्दै गएको नेपाल एसोसिएट राष्ट्रको शीर्ष स्थानमा समेत पुग्न सफल बन्यो । तर उपलब्धी र सफलतालाई कायम राख्नपनि नेपाल असफल बन्यो ।


पछिल्ला बर्षहरुमा विश्वकपको अनुभव लिईसकेको नेपाल क्षेत्रीय छनोटपनि पार गर्न असमर्थ रहदै आएको छ । अविश्वसनिय रुपमा ओरालो गतिमा रहेको नेपाली टोली किन यति कमजोर बन्यो त ? कारण विभिन्न रहेका छन् । ती मध्ये केहि कारण यहाँ उल्लेख गरिएको छ ।

१. क्रिकेटमा राज्यको लगानी :

नेपाली क्रिकेटले पछिल्लो दशक जे जती प्रगती र सफलता हात पार्यो त्यो नितान्त खेलाडीको मेहनत र आत्मविश्वासले हात पारेको सफलता थियो । क्रिकेटमा न्युन लगानी तथा प्रतिकुल परिस्थितीको पनि प्रवाह नगरी खेलाडीले मुलुकको भविश्यका लागि मैदानमा संर्घष गरेका थिए । असहज परिस्थिती पार गर्दै सहजतातर्फउन्मुख भईसकेपनि राज्यको लगानी थपिन नसक्दा घरेलु क्रिकेट निरन्तर ओरालो लाग्ने क्रममा पुगेको हो । ठिक विपरित नेपालले प्रतिनिधित्व गर्ने एसीयाली क्षेत्रका मुलकहरुले त्यसमा निक्कै ध्यान दिएका छन् । जसले गर्दा उनीहरु आफ्नो स्तर बृद्धि गर्न सफल समेत हुदै आएका छन् । भौतिक संरचनाको बेहालता मात्र होईन खेलाडीको बृती विकास र अन्य सुबिधाका बिषयमा पनि राज्यले स्पष्ट व्यवस्था गर्न सकेको छैन् । सरोकारवाला यतिसम्म लाचार बनेका छन की आधारभुत आवश्यक्ताको परिपुर्तिमा पनि ध्यान पुर्याउन सकेका छैनन् ।
२. गलत प्रशिक्षकको उपज :

क्रिकेटमा उदाउदा राष्ट्रहरुले क्रिकेट विकासका लागि मुख्य प्रशिक्षकसंगै व्याटिङ, बलिङ प्रशिक्षकसंगै टोलीमा अन्य दायित्वबोध गरी जिम्मेबारी हस्तान्तरण गर्दै आएका छन् । टेष्ट वा एकदिवसीय राष्ट्रका माथिल्लो लेभलका कोचलाई ल्याएर प्रबिधिमैत्री प्रशिक्षणको व्यवस्था मिलाएका छन् । तर नेपाली क्रिकेट पछिल्ला बर्षहरुदेखी नै सामान्य एकेडेमीस्तरका प्रशिक्षकका भरमा अघि बढेको छ । जसको क्षमता र अनुभवले क्रिकेटको विकास बढ्नुको सट्टा खस्कदै गएको हो ।
३. संरचनाको अभाव :

 नेपाली क्रिकेट टोलीले त्रिबि क्रिकेट मैदान वा मुलपानी क्रिकेट मैदानले नियमित प्रशिक्षण गर्दै आएका छन् । बर्षभर दर्जनबढि प्रतियोगीता आयोजना गर्ने मुख्य स्थलपनि यीनै हुन् । सिमित स्रोत र साधन मात्र रहेका यी मैदानमा ईन्डोर र आउडडोर प्रशिक्षणका लागि पर्याप्त व्यबस्था हुन नसक्दा उपलब्ध स्रोत र साधनकै परिधिमा रहेर अभ्यास तथा प्रशिक्षण गर्नुको विकल्प नहुदा त्यसको असर टोलीको प्रर्दशन र त्यसबाट निस्कने नतिजामा पर्ने गरेको छ ।
४. प्रतिद्धन्दीको बढ्दै गएको दायरा :

नेपालका लागि मुख्य प्रतिस्पर्धीका रुपमा रहेका अधिकांश मुलुकमा आप्रवासी खेलाडीको बाहुल्यता रहेका छन् । टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, अष्ट्रेलिया, ईङल्याण्ड लगायतका मुलुकका आप्रवासी खेलाडीलाई टोलीमा समावेश गर्ने बढ्दो चलनले पनि नेपालमाथी चुनौती थपिएको हो । ओमान, कतार, कुवेत, अमेरिका, सिंगापुर, मलेसीया, हङकङ लगायतका मुलुकमा यस्ता खेलाडीको बर्चश्व रहेकाले नेपाली टोलीमाथी उनीहरुको दबाव बढ्दै गएको हो ।


५. अनुभवी खेलाडीको खस्कदो फर्म :

लामो समय टोलीको जिम्मेबारीमा रहेका खेलाडीहरुको खस्कदो फर्मका कारण नेपाली टोली असन्तुलित बनिरहेको निश्चित रुपमा सत्य हो । कुनै समय नेपाली टोलीको खम्बाका रुपमा रहेका पुर्ब कप्तान पारस खड्कासहित बर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बिनोद भण्डारीजस्ता व्याट्सम्यानको विकल्प दिन नसक्दा समस्या दिनानुदिन बढ्दै गएको हो । ठुला नामले मात्र हरेक समयको प्रतिनिधित्व गर्न नसक्ने सास्वत सत्य बिषयलाई बुझ्न नसक्दा उनीहरुमाथी नै जबरजस्ती विश्वास गर्ने परिपाटिले पनि अर्को समस्या थपिएको हो ।
६. खेलाडी छनोट हुन नसक्नु :

राष्ट्रिय टोलीका लागि खेलाडीको छनोट हुन नसक्दा टोलीमा फर्म खस्किएका पुराना खेलाडीलाई नै लैजानुको विकल्प नेपाल क्रिकेट संघ क्यानसंग छैन् । उमेर समुहबाटै खेलाडी छनोटको प्रक्रिया बन्द रहदा राष्ट्रिय टोलीसम्म आउन धेरै प्रतिभावान खेलाडी बञ्चीत रहदै आएका छन् । क्षमता भएर पनि त्यसको प्रक्रिया बिधिसम्मत नहुदा त्यसको असर नतिजाहरुमा देखीने गरेका छन् ।
७. खेलाडीहरुबिचको असन्तुष्टि :

बाहिर नदेखीएपनि नेपाली क्रिकेट टोलीका खेलाडीहरुबिचमा आन्तरिक असन्तुष्टि निक्कै बढि देखीएको छ । पारस खड्काले कप्तानको जिम्मेबारीबाट राजिनामा दिएपनि कप्तानको जिम्मेबारी पाउन केहि खेलाडीहरुले गरेको गुटबन्दीले पनि यो अवस्थामा केहि भुमिका खेलेको छ । कप्तान ज्ञानेन्द्र मल्ललाई असफल बनाउन मात्र होईन, आफ्नो पक्षमा माहोल बनाउन पनि टोलीका सदस्यहरुबिच प्रयास निक्कै बढेको छ । क्षमता भएका खेलाडीहरुले पनि आफ्नो भुमीकाको खोजी गर्दै मुलुकको क्रिकेटको भविश्य सोच्नु भन्दा आन्तरिक प्रतिस्पर्धा तिब्र पारेका कारण समस्या बढ्दै गएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?