Logo

६ महिना यता पुर्वमा विप्लव समूहका ६८ जना कार्यकर्तालाई पक्राउ

न्युजडेस्क
२०७६ माघ १७ , शुक्रबार ०१:०१ मा प्रकाशित

नेपाल प्रहरीले ६ महिना यता पुर्वमा विप्लव समूहका ६८ जना कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको छ । १ नम्बर प्रदेशमा विप्लव समूहलाई निमिट्यान्न पारेको दावी प्रहरीले गर्दै आइरहेपनि ठाउँ–ठाउँमा विस्फोटका घटना भने भइरहेको छ ।

गत आइतबार मात्रै भोजपुरको षडानन्द नगरपालिका–८, तुङगेछा र पौवादुम्मा गाउँपालिका–१ श्यामशिलाको एनसेल टावरमा आगजनी गरेका छन् । सो समूहले सोही दिन मोरङको केराबारी–२ सिंहदेवीमा एनसेल टावरमा विस्फोट गराएका थिए । जिल्ला बाहिरबाट ल्याइएका मानिसहरुले विष्फोट गराएको बताइएको छ ।

१ नम्बर प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वष्ठि प्रहरी उपरीक्षक शेखर कोइरालाका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ नम्बर प्रदेशमा पोलिटब्युरो सदस्य एक, ब्युरो सदस्य ६, केन्द्रीय कमिटी सदस्य एक, जनवर्गीय तथा भ्रातृ संगठनका सात, केन्द्रीय जनपरिषदका एक, जिल्ला कार्यसमितिका ३२, जिल्ला जनपरिषद दुई, वडा कमिटीका तीन र साधारण कार्यकर्ता १५ गरी ६८ जनालाई पक्राउ गरिएको छ ।

प्रदेशको विभिन्न जिल्लामा अहिले पनि २८ जना थुनामा छन् भने १ सय ३० जनाले पार्टी परित्याग गरेका छन् ।

प्रहरीले अहिलेसम्ममा विप्लव समूहको पोलिट ब्युरो कमिटीकी उमा भुजेल, कोशी ब्युरो इञ्चार्ज पुष्कर भनिने घनश्याम श्रेष्ठ, कोशी ब्युरो सदस्य आकाश शर्मा भन्ने माधव गौतम, पूर्व केन्द्रीय सदस्य देवानसिंह राई, अखिल क्रान्तिकारी कोशी ब्युरो सदस्य डीवी सिलवाल भन्ने धनबहादुर बिक, सुनसरी जिल्ला इञ्चार्ज तथा मेची कोशी ब्युरो सदस्य लक्ष्मण पौडेल र राजेन्द्र विष्टलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूमध्ये यी माथिल्लो तहको जिम्मेवारी लिएका व्यक्तिहरू हुन् ।

प्रहरीका अनुसार विगत ६ महिनामा १ नम्बर प्रदेशमा दशवटा विस्फोटका घटना भएका छन् । त्यसबाट कुनै मानवीय क्षति भने भएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?