एमएम कप क्रिकेटको दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीलाई

क्रिकेट खेलकुद

विभागीय टोली त्रिभुवन आर्मीले दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सुनसरीको ईनरुवामा हिजो भएको फाईनलमा अर्को विभागीय टोली नेपाल पुलिसलाई ८५ रनले हराउदै आर्मीले उपाधि हात पारेको हो । उपाधिसंगै आर्मीले ४ लाख ५ हजार रुपैया प्राप्त गर्यो । उपविजेता पुलिसले २ लाख ५ हजार रुपैयामा चिक्त बुझायो ।
आर्मीले दिएको १ सय ८५ रनको चुनौती पछ्याएको पुलिस, २४ दशमलव ४ ओभरमा ९९ रनमा समेटियो । कुशल भुर्तेलले ३१, अमित श्रेष्ठले २३ तथा अनिल कुमार शाहले २१ रन बनाएको पुलिसको ईनिङसमा अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
पुलिसलाई सामान्य स्कोरमा समेट्न आर्मीका सुशन भारीले ४, सहाब आलमले ३ र कुशल मल्लले २ विकेट लिए । बिक्रम शोवले १ विकेट चट्काए ।
यसअघि ईनरुवा रंगशालामा टस जितेको पुलिसले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको त्रिभुवन आर्मी ४८ दशमलव १ ओभरमा १ सय ८४ रनमा समेटिएको थियो । कप्तान बिनोद भण्डारीले ४०, राजेश पुलामी मगरले ३१ रन बनाएको आर्मीको ईनिङसमा राजु रिजालले २२, बिक्रम शोवले १५ र कुशल मल्लले १३ रनको योगदान गरे ।
पुलिसका दिपेन्द्र सिंह ऐरी, सागर ढकाल र ललितनारायण राजवंशीले समान ३ तथा पवन सर्राफले एक विकेट लिए । एम एम कप क्रिकेटमा ७ प्रदेश ३ विभागीय सहित मलेसीयाको एक टोली र स्थानिय एक टोली गरी कुल १२ टोलीको सहभागीता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।