Logo

इरान विमान दुर्घटनाः भवितव्य कि नियोजित ?

न्युजडेस्क
२०७६ पुस २६ , शनिबार १०:०१ मा प्रकाशित

 (एजेन्सी) 

युक्रेनको विमान इरानमा दुर्घटनामा परेको घटना भवितव्य थियो कि नियोजित ? संयुक्त राष्ट्रसंघले नै छानबिनको माग गरेको छ । 

अमेरिका र इरानबीच पछिल्लो द्वन्द्व चर्चिएको र आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएको बदलामा अमेरिकी सैन्य अखडामा इरानले मिसाइल प्रहार गरिरहेको पृष्ठभूमिमा बुधबार युक्रेनी विमान दुर्घटनामा पर्‍यो। 

१ सय ७६ नागरिकको ज्यान जाने गरी दुर्घटनामा परेको विमानले इरानको इमाम खामेनी विमानस्थलबाट उडान भरेको थियो। उडान भर्ने बित्तिकै युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान दुर्घटनामा परेको थियो। 

विमान दुर्घटनामा मारिनेहरुमा ८२ जना इरानका, ६३ जना क्यानडाका र ११ जना युक्रेनका नागरिक थिए। तर, पश्चिमा देशहरुले उक्त विमान दुर्घटनामा परेको नभई इरानी क्षेप्यास्त्र प्रहारबाट खसेको आरोप लगाएका छन्। 

अमेरिकी चर्चित अखबार न्यूयोर्क टाइम्सले तेहरानमाथि राति आकाशमा क्षेप्यास्त्रको उज्यालो अघि बढ्दै गरेको र विमानसँग ठोक्किएर विस्फोट भएको जस्तो देखिने भिडियो सार्वजनिक गरेपछि इरानमाथि शंकाको तीर सोझिएको हो। 

त्यसपछि अमेरिकी सञ्चारमाध्यमहरूले इरानले प्रत्याक्रमणस्वरूप हुन सक्ने सम्भावित क्षेप्यास्त्र प्रहारका लागि तयारी गर्दै गर्दा उक्त विमानलाई अमेरिकी लडाकु विमान ठानेर प्रहार गरेको हुन सक्ने दाबी गरे। 

सिबिएस न्यूजले अमेरिकी गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार एउटा भू(उपग्रहले दुईवटा क्षेप्यास्त्र प्रहारको र एउटा विस्फोटको इन्फ्रारेड तरङ्ग ‘ब्लिप’ देखिएको पत्ता लगाएको छ।

त्यस्तै न्यूजवीकले पेन्टागन र एक वरिष्ठ अमेरिकी गुप्तचर अधिकारी तथा एक इराकी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै उक्त विमानमा रुसमा निर्मित टोर क्षेप्यास्त्र प्रहार गरिएको हुन सक्ने विवरण प्रकाशित गर्‍यो। 

त्यसपछि विभिन्न पश्चिमा देशका नेताहरुले इरानमाथि विमान खसालेको आरोप लगाइरहेका छन्। उनीहरुलाई नै पछ्याउँदै संयुक्त राष्ट्रसंघले युक्रेनी विमानबारे पूर्ण रुपमा अनुसन्धान होस् भन्ने अपेक्षा राखेको छ। 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले बिहीबार भनेका छन्, ‘संयुक्त राष्ट्रसंघ यो विमान दुर्घटनाको अनुसन्धान राम्रोसँग होस् भन्ने चाहन्छ, आइकाओको आधिकारिक भनाइ पनि यही हो।’

तर इरानले भने त्यस्ता आरोपहरुको खण्डन गरेको छ। इरानी अधिकारीहरूले त्यस्ता आरोपलाई ‘हास्यास्पद’ भनेका छन्। 

इरानका नागरिक उड्डयन प्रमखुले तेहरानले विमान खसालेको भन्नु ‘विल्कुलै असम्भव’ भएको बताएका छन्। इरानी अधिकारीहरुले यस्तो अरोपलाई अमेरिकाको ‘मनोवैज्ञानिक कारबाही’ को अंश भनेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?