Logo

अबैध रुपमा हुने गरेको गिट्टी बालुवा उत्खनन्को विरोध गर्दै आएका युवाको टिपरले किचेर हत्या

न्युजडेस्क
२०७६ पुस २५ , शुक्रबार ११:०१ मा प्रकाशित

अबैध रुपमा हुने गरेको गिट्टी बालुवा उत्खनन्को विरोध गर्दै आएका युवाको टिपरले किचेर हत्या गरिएको छ ।

धनुषाको मिथिला नगरपालिका–५ नक्टाझिझ बस्ने २५ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोको शव टिपरले किचेको अवस्थामा शुक्रबार बिहान ४ बजे भेटिएको छ । दिलिपको शव घरभन्दा करिब पाँच सय मिटरको दुरीमा रहेको खोला छेउमा फेला परेको प्रहरीले जनाएको छ।

भारतको भोपालमा इन्जिनियरिङ अन्तिम वर्षमा अध्ययनतर दिलिप १० दिनअघि घर आएका थिए । उनी नेपाल आएदेखि नै अबैध रुपमा हुने गरेको गिट्टी बालुवा उत्खनन्को विरोध गर्दै आएका थिए ।

दिलिपको दुर्घटनामा मृत्यु भएको वा हत्या भएको भन्ने विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए । मृतकका आफन्तले हत्या नै भएको दाबी गरेका छन् ।

महतोका परिवारजनले दिलिपको हत्या भएपनि प्रहरीले दुर्घटनाको रुप दिन खोजेको आरोप लगाएको छ । दिलिपका दाइ उपेन्द्र महतोले राति भाइको हत्या भएको दाबी गरेका छन् ।

बिहीबार राति १० बजेसम्म घरमै रहेका दिलिप कसैको फोन आएपछि बाहिर निस्किएको उपेन्द्रले बताए । रातिको समयमा खोला छेउमा कसरी दुर्घटना भयो भन्दै उनले प्रश्न गरेका छन् ।

खोलाबाट अवैध रुपमा भइरहेको उत्खनन्को दिलिपले विरोध गरेको र त्यसै कारण उनको हत्या भएको हुनसक्ने दाइ उपेन्द्रले भनाइ छ । शुक्रबार बिहान शव बरामद भएपछि प्रहरीले घटनास्थलको मुचुलकानै नबनाइ शव उठाएर पोस्टमार्टमको लागि लगेको उनको भनाइ छ ।

दिलिपको हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै स्थानीयवासीले पूर्वपश्चिम राजमार्गको नक्टाझिझमा सडक अवरुद्ध गरेर प्रदर्शनसमेत गरेका छन् । श्राेत नेपालसमय

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?