Logo

तेजाब आक्रमणमा परेकी मुस्कान खातुन अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखिन एस्तो चिठी

न्युजडेस्क
२०७६ कात्तिक ८ , शुक्रबार ०१:१० मा प्रकाशित

मुस्कान डेढ महिनाअघि तेजाब आक्रमणमा परेकी १४ वर्षीया मुस्कान खातुन अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छन्। कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानले उक्त चिठी मार्फत् आफू प्रधानमन्त्रीको ठाउँमा भएको भए तेजाब प्रहार गर्नेहरूलाई फाँसी दिने बताएकी छन्।
मुस्कान डेढ महिनादेखि कीर्तिपुर अस्पतालमा उपचार गराइरहेकी छन्। उनको जीउको दाहिने भाग पूरै तेजाबले जलेको थियो। उनको स्वास्थ्य सुधार हुँदै आएको छ।

मुस्कानले प्रधानमन्त्रीलाई लेखेको चिठी यस्तो छः

मिति: २०७६/८/५

माननीय प्रधानमन्त्रीज्यू,

म मुस्कान खातुन अन्सारी,

मेरो तर्फबाट नमस्ते। म एउटा तेजाब आक्रमणको नानी। हजुरलाई एउटा सानो चिठी। यो घटना मसँग घटिएको हो। यो घटनाको पीडा भनेको ठूलो घटना हो। पहिला जेनी खड्का र संगिता मगर तेजाब आक्रमण भए बेला कडा भन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुन्थिनँ होला।

प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई बहुमतको सरकार छ। हजुरको ठाउँमा म भइदिएको भए त्यो अपराधीलाई फाँसी दिन्थेँ। यसपालि ठूलोभन्दा ठूलो सजाय पाओस् ताकि म जस्तो एउटा बालिका या चेलीबेटी वा कसैमाथि तेजाब आक्रमण नहोस्। मैले जति पीडा खपेको छु, त्यो पीडा अरू कोही माथि पनि नहोस्। यो पीडा भनेको सानो पीडा होइन। एउटा देशकै ठूलो पीडा हो। आमा र बुवाको पीडा पनि धेरै ठूलो पीडा हो।

यो पीडा कसैको आमाबुवाले खप्न नपरोस्। त्यो दोषीलाई यसपालि ठूलो सजाय होस्। मेरो हजुरसँग बिन्ती र अपेक्षा छ। हजुरसँग मेरो एउटा अनुरोध छ कि मेरो पीडा बुझिदिनु होस्। यो घटना कसैमाथि नहोस् र कोही पनि तेजाब आक्रमण भएको चेलिबेटी अस्पताल नआओस् भन्ने अनुरोध छ।

धन्यवाद।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?