Logo

पाथीभरा गोल्डकपको उपाधि एलेभेन एरोजलाई, रेडस्टार टाईब्रेकरमा पराजित फूटबल

कैलाश
२०७६ भदौ ६ , शुक्रबार ०९:०८ मा प्रकाशित

पाथीभरा गोल्डकप फुटबलको चौथो संस्करण सुनसरीको एलेभेन एरोजले जितेको छ । ताप्लेजुङ सदरमुकाममा आज भएको फाइनलमा डिफेण्डिङ च्याम्पियन झापाको रेड स्टार क्लबलाई हराउदै एलेभेन एरोजले उपाधि हात पारेको हो । निर्धारित मिनेट २–२ को बराबरीमा सकिएपछि उपाधिको छिनोफानो टाईबे्रकरबाट गरिएको थियो । जसमा सुनसरी ४–२ ले बिजयी बन्दै उपाधी हात पार्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६० औ मिनेटमा योगेश गुरुङको गोलबाट झापाले अग्रता बनाएको थियो । ७४ औ मिनेटमा यानिक ओवानाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
८७ औ मिनेटमा मिलन राईले गोल गर्दै रेडस्टारलाई फेरी अग्रता दिलाएपनि त्यो अग्रता २ मिनेटमै तोडियो । ८९ औ मिनेटमा मिनेटमा सुशान्त तामाङले गोल गर्दै टोलीलाई बराबरीमा पुर्याएका थिए ।
त्यसपछि भएको टाईब्रेकरमा एलेभेन एरोज भाग्यमानी बनेको हो । रेडस्टारका योगेश गुरुङको पहिलो प्रहार नै बाहिरिएको थियो । त्यस्तै विकास थुलुङको तेस्रो प्रहार पनि बाहिरिएको थियो । रेडस्टारका पुजन उपरकोटी र निशान्त लिम्बुले गोल गरे ।
सुनसरीका रुपेश केसी, जीवन धामी, विश्व एप्स र उमेश कार्कीले गोल गरे । गोल्डकप च्याम्पियन एलेभेन एरोजले नगद ३ लाख ११ हजार र ट्रफी हात पार्यो । उपबिजेता रेडस्टार फुटबल क्लबले एक लाख ५१ हजारमा चित्त बुझायो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?