केन्द्रको निर्वाचनको मिति तय गर्ने जिम्मा स्वतन्त्र कमिटिलाई

क्रिकेट खेलकुद

अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले नेपाल क्रिकेट संघ क्यानको केन्द्रिय निर्वाचनको मिति तय गर्ने अधिकार स्वतन्त्र कमिटिलाई नै दिएको छ । कमिटिले केन्द्रको निर्वाचनका लागि भदौ २८ र २९ तथा असोज ३ र ४ गतेको मिति आईसीसीलाई प्रस्ताव गरेको थियो । आईसीसीले त्यसको जवाफमा स्वतन्त्र कमिटिलाई नै केन्द्रिय निर्वाचनको मिति तोक्न अख्तियारी दिएको कमिटि सदस्य रईस थापाले ई–खेलकुदलाई जानकारी दिनुभयो । कमिटिले यीनै २ मध्ये एक मितिमा केन्द्रको निर्वाचन गर्ने तयारी गरेको छ ।
सदस्य जिल्लाको निर्वाचन सम्पन्न गरेपछि ३ वटा प्रदेशको निर्बाचन सकिसकेको कमिटिले बाँकि प्रदेशको निर्वाचन पनि १ महिनाभित्र टुग्याउने दाबी गरेको छ । कमिटिले गण्डकी प्रदेश सहित प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशको निर्वाचन सम्पन्न गरिसकेको छ । प्रदेश ५, ३ र २ को निर्वाचनको मिति पनि तय भईसकेको थापाले जानकारी दिनुभयो । आगामी अक्टोबर १३ मा बस्ने आईसीसी बोर्ड बैठकमा नेपालको निलम्बनबारे औपचारिक निर्णय हुने संभावना उच्च रहेको भन्दै सदस्य थापाले त्यसअगावै नेपालका सम्पुर्ण प्रक्रिया टुंगो लगाउने गरी कमिटिले काम गरिरहेको उल्लेख गर्नुभयो ।
विकसित अवस्थामा कुनै उतारचढाव नआए अक्टोबर दोस्रो साता नेपाल क्रिकेट संघले निलम्बनको अवस्था पार गर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।